काठमाडौं– अबदेखि मर्जर वा प्राप्ति प्रक्रियामा गएका सूचीकृत कम्पनीको सेयर कारोबार १५ दिनभन्दा बढी रोक्का नहुने भएको छ ।
धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका संगठिन संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका लागू गरेकाले अबदेखि १५ दिनभन्दा बढी कारोबार रोक्का नहुने भएको हो ।
नेपाल धितोपत्र बोर्डले उक्त निर्देशिका बिहीबारदेखि लागू हुने गरी स्वीकृत गरेको जानकारी दिएको छ । निर्देशिकाको दफा ९ को उपदफा २ मा एकआपसमा गाभिने संस्थाले एकीकृत व्यावसायिक कारोबार गरेको मितिबाट गाभ्ने/गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि बढीमा १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का राख्न सम्बन्धित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ । नयाँ व्यवस्था अनुसार प्राप्तिको हकमा प्राप्त गर्ने संस्थाको सेयर कारोबार रोक्नु पर्दैन ।
यसरी निवेदन प्राप्त भएपछि धितोपत्र बजारले सम्बन्धित संगठित संस्थाको सेयर कारोबार रोक्का राख्ने प्रावधान निर्देशिकामा छ ।
हालसम्म गाभ्ने÷गाभिने सम्झौता भएदेखि नै दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्ने चलन छ । जसले गर्दा सर्वसाधारण लगानीकर्ताले आफूसँग भएको सेयर बेचेर गर्जो टार्न पाएका थिएनन् ।









