काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धि विरोधी आनदोलन स्थगित गर्न आग्रह गरेको भोलिपल्ट चेम्बरले पनि उसको पाइला पछ्याएको छ ।

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजी कर्जासम्बन्धी मागदर्शनको विरोधमा हुँदै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपूर्ण संघर्षका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसंग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्नेछ, । त्यतिन्जेलसम्मका लागि संघर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ । ’

बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन् समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धराशयी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदासमेत सरकारले व्यवसायीको मागलाई सुनुवाइ गरेको छैन । निर्वाचनलगत्तै संघर्षमा उत्रनुको विकल्प छैन ।’

चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्रबैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैंकलाई बिभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहित हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ, ।’

कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय