काठमाडौं– पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ ।
यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि यसपालि त्यसो नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।
उनका अनुसार पोहोर कात्तिकको तुलनामा यसपालि कात्तिकमा पेट्रोल तथा डिजेलको खपत ठूलो मात्रामा घटेको छ ।
२०७८ को कात्तिक २३ गतेसम्म ६३ हजार ३१५ किलोलिटर पेट्रोल र १ लाख ३५ हजार ९ सय १२ किलोलिटर डिजेल खपत भएको थियो । २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार ५ सय १३ किलोलिटर पेट्रोल र ७८ हजार ४ सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ ।
तरलता अभाव तथा विकास निर्माणको सिजन सुरु नभएको, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको निगमको भनाइ छ । ट्यांकर चालक र सीमावर्ती क्षेत्रका बासिन्दाले भारतमै पेट्रोलियम पदार्थ खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ ।









