काठमाडौं– चालू आर्थिक वर्ष २०७९–८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) संकलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार संकलन भएको देखिएको हो ।

विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१ दशमलव ९ प्रतिशत बराबर संकलन भएको छ । कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड ७ लाख ५८ हजार आयकर संकलन गर्ने सरकारी लक्ष्य छ । यो अवधिसम्मको वास्तविक आयकर संकलन भने ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रहेको छ ।

गत आव २०७८–७९ को पहिलो चौमासिकमा ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार आयकर संकलन भएको थियो । पहिलो चौमासिकमा भ्याट असुली पनि लक्ष्यभन्दा न्यून छ । कात्तिक मसान्तसम्ममा ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार भ्याट संकलन गर्ने सरकारी लक्ष्य रहेकामा ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार बराबर मात्रै असुली भएको छ ।

त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो । यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० अर्ब ६५ करोड ३८ लाख ४ हजार अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखिएकोमा ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार असुली भएको हो ।

सो असुली पहिलो चौमासिक लक्ष्यको एक सय १२ दशमलव ९२ प्रतिशत बराबर हो । त्यस्तै घरबहाल कर लक्ष्यको ६९ दशमलव ७४ प्रतिशत बराबर मात्रै उठेको छ । कात्तिक मसान्तसम्ममा १ अर्ब ६९ करोड १३ लाख घरबहाल कर उठाउने विभागको लक्ष्य छ । यो अवधिमा ६४ करोड ४२ लाख तीन हजार बराबर मात्रै उठेको हो ।

शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ । यो अवधिसम्ममा ५३ करोड २३ लाख ५२ हजार शिक्षा कर उठाउने लक्ष्य रहेकामा ५० करोड ८६ लाख ९५ हजार मात्रै उठेको छ । स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ । पहिलो चौमासिकमा १ अर्ब ३६ करोड ११ लाख २० हजार बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा १ सय ८३ दशमलव १५ प्रतिशत अर्थात् २ अर्ब ४९ करोड २९ लाख १६ हजार असुली भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय