काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ ९३ लाख ५ हजार ७६६ मत गणना गरिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिह्नमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले) ले २५ लाख ३४ हजार ३२३ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८, नेकपा (माओवादी केन्द्र) ले १० लाख ६२ हजार ७४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६५६, जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ३७२ मत प्राप्त गरी थ्रेसहोल्ड कटाएका छन् ।

थ्रेसहोल्ड कटाउन संघर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले २ लाख ६२ हजार ८२६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९१८, नेपाल मजदुर किसान पार्टीले ७२ हजार ८००, हाम्रो नेपाली पार्टीले ५२ हजार ८४३ मत, मंगोल नेसनल अर्गनाइजेसनले ४५ हजार ६६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८७३, नेपाल संघीय समाजवादी पार्टीले ३१ हजार २२९ र नेकपा (माले)ले २६ हजार ९७१ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेसनलिस्ट पिपल्स पार्टीले १ हजार ६९४ मत प्राप्त गरेको छ ।

त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार ८६९ मतगणना भइसकेको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार ७५८, वागमती प्रदेशमा १५ लाख ९८ हजार ४३४, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १३८ मत गणना भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय