विराटनगर– औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिबीचको भिन्नताका कारण उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाबीच आगामी ३ वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
दुवै संस्थाबीच भएको सम्झौताअनुरुप उक्त केन्द्रले आगामी दिनमा उद्योगलाई आवश्यक दक्ष जनशक्तिको तथ्यांक संकलन, उद्योगको आवश्यकताअनुरुप तालिम सञ्चालनका लागि प्रदायक संस्थाहरुबीच पुलको भूमिका निर्वाह गर्नुका साथै समयानुकूल पाठ्यक्रम परिमार्जनका सम्बन्धमा नीतिगत सुझाव सम्वन्धित निकायमा दिने बताइएको छ । त्यसैगरी यस क्षेत्रका निजीक्षेत्र, तालिम प्रदायक संस्थाहरु एवं नेपाल सरकारका सरोकारवाला निकायबीच निरन्तर सहजीकरण गरी जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
दुवै संस्थाको सहकार्यमा गत वर्षदेखि सञ्चालनमा रहेको उक्त केन्द्रले यस क्षेत्रका विभिन्न उद्योग व्यवसायसँग समन्वय गरी अप्रेन्टिससिप मोडेलमा ३३ जना प्रशिक्षार्थीलाई रोजगारीको व्यवस्था गरको छ । संगठन र परियोजनाको समन्वयमा पिएलसी, बोईलर अपरेटर, लेथ अपरेटर लगायतका विषयमा एक सय घण्टाको तालिम सञ्चालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिम सञ्चालन गर्ने तयारी भएको छ ।
दिगो रुपमा औद्योगिक दक्ष जनशक्ति उत्पादनका लागि समन्वय गरी प्रदेश नं. १ कै प्राविधिक जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिई भएको सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । यसअघि गत वर्षदेखि दुवै संस्थाको सहकार्यमा संगठनमा सीप विकास इकाइ सञ्चालनमा रहेको छ ।









