काठमाडौं– निजी प्रयोजनका सवारी साधन आयातमा जारी प्रतिबन्धविरुद्ध अटो व्यवसायीले आन्दोलन घोष्णा गरेका छन् ।
अटो व्यवसायीहरुको छाता संस्था नाटा अटोमोबाइल एसोसिएसनले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो ।
सरकारले गत वैशाख १३ देखि पेट्रोलबाट चल्ने सवारीको हकमा एम्बुलेन्स र शवबाहन बाहेकका कार, जीप, भ्यान र १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ । समय तोकेर लगाइएको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म कायम छ । विद्युतीय सवारी साधन आयात भने खुला छ ।
आयात प्रतिबन्धले व्यवसाय धराशयी हुने अवस्थामा पुगेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् ।
चरणबद्ध रुपमा आन्दोलन गर्ने एसोसिएसनको भनाइ छ । नाडाका अध्यक्ष ध्रुव थापाले सरकार र राष्ट्र बैंकको वर्तमान नीतिमाथि दबाब दिन आन्दोलन घोषणा गरेको बताए । आन्दोलनको पहिलो चरणमा अटो व्यवसायीहरुले नारा अंकित प्रोफाइल पिक्चर सामाजिक सञ्जालमा राख्ने बताइएको छ ।
त्यसपछि आफ्नो गाडीहरुमा नारा टाँस्ने, सोरुममा ब्यानर टाँस्नेदेखि माइतीघरमा पुगेर धर्ना दिनेसम्मको कार्यक्रम रहेको नाडाको भनाइ छ ।
नारामा ब्याजदर नियन्त्रण, ५० प्रतिशत नगद मार्जिन घटाउने, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज तथा मौद्रिक नीति परिमार्जन लगायत विषय समेटिएको छ । आयात गर्न पाइने गाडीको एलसीमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था छ ।
एसोसिएसनका अध्यक्ष थापा अब पनि सवारीसाधन आयात नखोलने हो भने अटो व्यवसाय थला पर्ने बताउँछन् । ‘त्यसैले व्यवसायी सरकारविरुद्ध उभिन बाध्य भएका हौं,’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने । व्यवसायीले आयात प्रतिबन्ध हटाउन पटक पटक आग्रह गरे पनि सरकाले बेवास्ता गरेको गुनासो गरे ।









