काठमाडौं– कम्पनीको सेयर सर्वसाधारणलाई समेत बिक्री गर्ने प्रस्ताव पारित गर्दै रेमिट्यान्स कम्पनी आइएमईको २२औं साधारणसभा सम्पन्न भएको छ ।
नेपालको पहिलो एवं नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औं साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । योसँगै आइएमई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी बन्ने भएको छ ।
साधारणसभामा संक्षिप्त मन्तव्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवं संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे । अध्यक्ष ढकालले आम सेवाग्राहीबीच पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आइएमईको आजसम्मको व्यवसायिक यात्रामा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यावसायिक दायारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।
साधारणसभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवं आइएमईका संचालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए ।
अब नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने छ । कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।
यो प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रक्रिया अघि बढ्नेछ ।
रेमिटेन्स समाधान प्रदायकमध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ ।









