काठमाडौं– मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । मेलम्ची खानेपानी आयोजनका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्वनिर्धारित समयमै पानी वितरणको लागि पठाइने जानकारी दिए । ‘अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना खानेपानी आपूर्ति हुनेछ,’ उनले भनेका छन् ।
गत हप्ता मेलम्ची खानेपानी आयोजनाले मेलम्ची खोलाको पानी अस्थायी बाँधमार्फत सुरुङमा पठाउन सुरु गरेको थियो । बाढीले क्षति पुगेको आयोजनास्थलमा बालुवा, ढुंगा, गेग्रान हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको थियो ।
२०७७ चैतमा काठमाडौं आइपुगेको मेलम्ची पानी सोही वर्ष असार र साउनमा आएको पहिराले बाँधस्थलमा क्षति पुर्याएपछि बन्द भएको थियो । पछि बाँधस्थल मर्मत गरेर गत हिउँदमा पनि मेलम्ची पानी काठमाडौं ल्याइएको थियो । बर्खा लागेपछि पानी पठाउन रोकिएको थियो ।
बर्खा सकिएपछि बाँधस्थलमा जम्मा भएको ढुंगामाटो पन्छाएर पानी सुरुङमा हालिएको थियो ।









