काठमाडौं– नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हार्डवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्त रुपमा उद्योग सञ्चालनमा ल्याएका हुन् । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

यसै वर्षबाट उत्पादन बजारमा आएको हो । नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिले नेपोभिट ब्रान्डमा टायल उत्पादन गरेको छ । उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारका अनुसार हाल टायललाई आवश्यक पर्ने ५० प्रतिशत माटो नेपालकै प्रयोग गरिएको छ । केही महिनापछि नै पूर्ण रुपमा नेपाली माटोबाटै टायल उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । बारा, मकवानपुर र दोलखालगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ । १०–१२ प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ । टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ ।

सुरुको तीन महिना पूरै माटो भारतको राजस्थानबाट ल्याइए पनि क्रमशः नेपाली माटोको खोजी गरिएको बताए । उनले भने, ‘एक हजार २०० डिग्री तापक्रम दिँदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो । नेपाली माटो टायलका लागि उत्तम देखियो ।’

भारतीय माटोबाट बनाइएको टायलले ३५० केजी भार थेगेको भन्दै उनले नेपाली माटोबाट बनेको टायलले ४३० केजी भार थेगेकाले यहाँको माटो गुणस्तरीय देखिएको बताए । भारतबाट ल्याएको माटो उद्योगसम्म आइपुग्दा प्रतिकिलो ८ रुपैयाँ पर्छ भने नेपाली माटो ३ रुपैयाँमा उद्योग आइपुग्ने उनको भनाइ छ ।

उद्योगले महिनामा ७ हजार २०० टन माटो खपत गर्दै आएको छ । झण्डै तीन वर्षअघि उद्योगको काम थाल्दा गरिएको अध्ययनमा हरेक वर्ष ३० अर्बको टायल विदेशबाट आयात हुँदै आएको बताउँदै आफूहरुले त्यसको १० प्रतिशत आयात विस्थापन हुने गरी उत्पादन थालेको रौनियारले बताए । अहिले उद्योगले मासिक २० करोड हाराहारीका ३५० डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ । देशका सबै क्षेत्रमा टायल पुगिसकेका छन् । विदेशी टायल ल्याएर देशैभरि बिक्री वितरण गर्ने ठूलो सञ्जाल सञ्चालकको रहेकाले बजार पुर्याउन सहज भएको हो ।

पहिलो चरणमा भुइँमा बिछ्याउने फरक–फरक साइजका टायल उत्पादन भएका छन् । उद्योगका अध्यक्ष शम्भुनाथ झाका अनुसार भारतीय ब्रान्डेड टायलभन्दा राम्रो गुणस्तरमा उद्योगले उत्पादन थालेको छ । छिट्टै भित्तोलगायतका ठाउँमा लगाउने फरकफरक खालका टायलसमेत उत्पादन गर्ने योजना रहेको झाले बताए ।

पाँच बिघा १२ कट्ठा जमिनमा १ अर्ब ५० करोडभन्दा बढी लगानी गरेर उद्योग सुरु गरिएको हो । उद्योगमा ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सुरुमा भारतबाट १५० जना प्राविधिक कामदार ल्याइएकोमा अहिले घटाएर एक सयमा झारिएको छ । यो संख्या क्रमशः घटाउँदै लैजाने उनले बताए ।

अध्यक्ष झाले भने, ‘हामीले उद्योग सुरु गरेसँगै अन्य व्यवसायीले पनि उद्योग सञ्चालनको तयारी गरेका छन् । यही ढंगले अघि बढेमा ५–७ वर्षपछि नेपाल टायलमा आत्मनिर्भर हुन्छ ।’ सम्पूर्ण उपकरण इटलीमा बनेको भन्दै उनले भारतीय उत्पादनभन्दा गुणस्तरीय उत्पादन आफूले गर्दै आएको बताए । उनका अनुसार उपकरणका लागि मात्रै ७० करोडभन्दा बढी खर्च भएको छ । उत्पादन गुणस्तरीय र मूल्य सस्तोमा बिक्री गर्न सकेको उनी बताउँछन् ।

सुरुआती समय सम्झँदै उनले भने, ‘साथीभाइ र परिवारका मानिसले पनि यिनीहरुले सही काम गरेनन् भन्थे, अहिले सबै दंग छन् ।’ आफूहरुले निकै चुनौती मोलेर काम गरेको जनाउँदै उहाँले कच्चा पदार्थ र बजारीकरणमा आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय