काठमाडौं– शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्कासन गरी बिक्री नभएको १ लाख ८० हजार ५ सय ८० कित्तासहित कुल ५ लाख ८० हजार ५ सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।
निष्कासन गरिने सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी पुस २० सम्म अधिकतम ५ हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ भने कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ ।
कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि ९ सय ९० किलोवाट क्षमतामा व्यापारिक उत्पादन गरिरहेको छ ।









