काठमाडौं– नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती राखी झिलिमिली बनाउने काम भइरहेको छ ।

पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म ८ वटा हाइमास्ट लाइट जडान गरिएको छ ।

महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा १ हजार ६ सय २४ वटा सडक बत्ती जडान गरिनेछ, जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका १ हजार १ सय ४ वटा र १२० वाटका ५ सय २० वटा स्मार्ट बत्ती जडान गरिने प्राधिकरणले जानकारी दिएको छ । अहिलेसम्म १ सय ७१ वटा बत्ती जडान गरिएको छ । सडक बत्ती जडान कार्य आगामी फागुनभित्र सकिनेछ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाइमास्ट र सडक वत्तिको संयुक्त रुपमा उद्घाटन गरे । रिमोटमार्फत बिरौटा, लेकसाइड लगायत ठाउँका राखिएका हाइमास्ट र सडक बत्ती बालिएको थियो ।

कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्य बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि २७ वटा फिडर प्यानल जडान गरिने छ । त्यसमध्ये तीनवटा जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले, नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय