काठमाडौं– सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ लाख १५ हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)का बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने ५ करोड मूल्य बराबरको ५ लाख कित्ता साधारण सेयरमध्ये ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने र १० हजार कित्ता कर्मचारीलाई छुट्ट्याइसकेको छ । साथै बाँकी ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गरेको सेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता खरिदका लागि आवेदन दिन सक्ने बताइएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्बा’ प्रणालीमार्फत र ‘मेरो सेयर’बाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले इलामको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’मा ७.८ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय