काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१.०१ ले ओरालो लागेर २१२७.५२ मा आइपुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३३ बिन्दुले ओरालो लागेर ४०२.९८ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहको नै सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कुल कम्पनीमध्ये ९ कम्पनीको मात्रै सेयर मूल्यमा वृद्धि भएको छ ।
त्यस्तै २०१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कुल ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर ३ अर्ब ३० करोड २२ लाख ८ हजार ८२५ मूल्यमा खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको १७ करोड ६५ लाख ४० हजार बराबरको सेयर कारोबार भयो । रिडी पावर कम्पनी १० करोड ४८ लाख ९२ हजार ८०७, पिपुल्स पावर कम्पनी ९ करोड ५६ लाख २९ हजार ६९७, माथिल्लो तामाकोसी ९ करोड ३५ लाख ९२ हजार ८८८ र अपि पावर कम्पनी ७ करोड ७७ लाख ९३ हजार ९७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर ६.५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स ५.१४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.०३ प्रतिशतले कमाएका छन् ।
त्यस्तै युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर ७.१४, श्वेतगंगा हाइड्रोपावर ६.७१, सगरमाथा इन्स्योरेन्स ६.४४, सयपत्री हाइड्रोपावर ५.८० र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.७४ प्रतिशतले घटेको छ । आजको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार ३३६ कायम भएको छ ।









