काठमाडौं– गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीकी आमाको निधन भएको कीर्तिपुरस्थित बर्न अस्पतालले जानकारी दिएको छ ।
८६ वर्षीया हरिकलाको सो अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको थियो । कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०:५७ मा हरिकलाको निधन भएको हो ।
गए राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिन्डर पड्किएर नेता भण्डारी र आमा घाइते भएका थिए । हरिकलाको शरीरको करिब ७० प्रतिशत भाग जलेकको थियो ।
नेता भण्डारीको अनुहार, दुवै हात र गोडामा गरी २५–३० प्रतिशत जलेको छ । भण्डारीको श्वासनलीमा तातो हावा र धुँवाको कारणले जलन भएको हुनसक्ने सम्भावना रहेको अस्पतालका चिकित्सकले बताएका छन् । नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएका भन्दै देशबाहिर सुविधा सम्पन्न अस्पतालमा उपचारार्थ लैजान पनि अस्पतालले सुझाव दिएको छ ।









