काठमाडौं– देशको शोधनान्तर स्थिति १३३ अर्ब २१ करोडले बचतमा रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २४७ अर्ब ३ करोडले घाटामा रहेको शोधनान्तर स्थिति अहिले १३३ अर्बभन्दा धेरैले बचतमा गएको हो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति यसपालि १ अर्ब १ करोडले बचतमा रहेको केन्द्रीय बैंकको भनाइ छ ।
गत माघसम्ममा चालु खाता २९ अर्ब ६४ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटा ४११ अर्ब ३४ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता यस वर्ष २३ करोड ४६ लाख डलरले घाटामा छ ।
गत साउनदेखि माघसम्ममा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई ५ अर्ब ३५ करोड कायम भएको र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रहेको थियो ।









