काठमाडौं– काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको संख्या उल्लेख्य मात्रामा बढे पनि व्यापार भने बढ्न सकेको छैन ।

नेपालमा मार्चमा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ । ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि ट्रेकिङका सामान बिक्री गर्दै आउनुभएका पुण्यराम लागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउँछन् । ‘कोरोना महामारी अगाडिको तुलनामा अहिले २० प्रतिशत मात्र व्यापार भएको छ,’ उनले भने ।

कोरोना महामारीअघि लागेजुले दैनिक ५० हजारदेखि ६० हजारको व्यापार गर्थे । अहिले दैनिक ८ हजारदेखि १० हजारसम्मको व्यापार हुने गरेको उनले बताए । बाइस वर्षको व्यापारको अनुभव सुनाउँदै लागेजुले भने, ‘अहिले सबैभन्दा थोरै व्यापार भएको छ ।’

यस्तै, ठमेलमै लामो समयदेखि कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी पहिलेको तुलनामा अहिले व्यापार÷व्यवसाय घटेको बताउँछन् । ठमेलका गल्लीमा प्रशस्त मात्रामा पर्यटक देखिए पनि व्यापार न्यून भएको उनको भनाइ छ । ‘कहिलेकाँही त बिक्री नै हुँदैन,’ रेग्मीले भने ।

खर्च धेरै गर्ने पर्यटक नआएका कारण व्यापार घटेको उनको भनाइ छ । ठमेलमा विगत १४ वर्षदेखि ह्यान्डिक्राप्टको व्यापार, व्यवसाय गर्दै आएकी नेपाल ह्यान्डिक्राप्ट कलेक्सनका सञ्चालक मीनाकुमारी बाँस्तोला पछिल्लो समय व्यापार एकदमै घटेको बताउँछिन् । ‘पहिलाजस्तो व्यापार छैन, पहिला पर्यटक पसलमा आउने सामान हेर्ने गर्दथे, मन परे किनेर लैजाने गर्दथे, अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन्,’ बाँस्तोला भन्छन् ।

उनले उलन, पसिमना, फेल्टलगायतका सामान बेच्छन् । ठमेलमा व्यापार व्यवसाय नहुँदा घरबेटीलाई भाडा तिर्नसमेत समस्या पर्दै गएको व्यवसायी बताउँछन् । ठमेल क्षेत्रका व्यापारीले व्यवसाय नभएको गुनासो गरिरहँदा ठमेलका होटलमा भने पर्यटकको संख्या बढेको होटल व्यवसायी बताउँछन् । ठमेलमा काठमाडौं इको होटल सञ्चालन गर्दै आएका विमल (सहदेव) धमलाले आफ्नो होटलमा दैनिक ७० देखि ८० कोठा भरिएको बताए ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला पर्यटक छोटो समयका लागि बस्न आउँदा ठमेल क्षेत्रको व्यापार व्यवसाय भने घटेको बताउँछन् । ठमेलमा एक–दुई रात आएर बस्ने पर्यटकका भरमा व्यापार व्यवसाय केन्द्रीत रहेको उनले सुनाए । ठमेलमा सञ्चालित चारतारे होटल ‘रमदा’का महाप्रबन्धक महेश फुयाँल आफ्नो होटलका कोठा अहिले दैनिक ९० प्रतिशतसम्म भरिन थालेको बताउँछन् । अहिले पर्यटकीय समय भएको कारण पनि होटलमा पर्यटकको संख्या बढेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय