काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चालू कार्यकालका अन्तिम कार्यकारी अध्यक्षतालाई कार्यभार हस्तान्तरण भएको छ । एक वर्षअघि भएको संघको १०औं महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चुनिएका थिए । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार ६ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि अर्का अध्यक्ष कुल आचार्यले ६ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी थापालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
कार्यकारी अध्यक्ष डा केसीले ६ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा संघको ११औं महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ । समारोहमा अध्यक्ष केसीले आगामी ६ महिनामा गर्ने कामबारे जानकारी गराएका थिए ।
यसैगरी अध्यक्ष थापाले विगत ६ महिनामा भए गरेका कामबारे अवगत गराएका थिए भने अध्यक्ष आचार्यले सहमतिअनुसार आगामी ११औं महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा संघका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, संघका पदाधिकारी तथा पूर्वपदाधिकारीले नेपालको समृद्धिमा योगदान दिने र संघलाई आफ्नो उद्देश्यअनुसारको अभियानमा डोर्याउन सबैको सहयोगको अपेक्षा गरे । सन् २००३ मा स्थापित संघले २० वर्षमा रचनात्मक काम गरेको छ । हालसम्म विश्वका ८६ देशमा संघका राष्ट्रिय समन्वय परिषद् गठन गरिएका छन् ।









