काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा कार्यक्रममा उनले मुलुकलाई समृद्धितर्फ लैजाने ठूलो जमातका रुपमा निजी क्षेत्र रहेकाले सरकारले हातेमालो गरेर अघि बढ्ने बताए ।
‘निजी क्षेत्रको सहयोगबिना यो मुलुकले आर्थिक समृद्धि पाउन सक्दैन । निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढ्नुपर्ने अहिलेको समयको माग छ । यसका लागि सरकार हरेक कुराको सहयोग गर्न तयार छ,’ उद्योगमन्त्री रिजालले भने ।
उद्योगी व्यवसायीको समस्याबारे सरकार बुझ्ने क्रममा रहेको पनि मन्त्री रिजालको भनाइ छ । अहिले देखिएका समस्याबारे सरकार गम्भीर रहेको बताउँदै मन्त्री रिजालले निजी क्षेत्रलाई निरुत्साहित नहुनसमेत आग्रह गरे ।
‘मुलुक चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ । आर्थिक अवस्था त्यति राम्रो छैन । आयात निर्यातमा ठूलो अन्तर छ । उद्योगी व्यवसायी निरुत्साहित हुनुहुन्छ । उद्योग ठप्प भएका छन् । यस्ता धेरै गुनासा हामीले सुन्नु परेको छ,’ उनले भने ।
अर्थतन्त्रमा अहिले देखिएको समस्या एकैपटक आएको नभई कोभिड महामारी, रुस युक्रेन युद्धलगायतका विश्व अर्थतन्त्रमा देखिएको समस्याका कारण सिर्जना भएको रिजालको भनाइ छ । अर्थतन्त्र सुधारका लागि अहिले सरकार पर्खेर बस्नुपर्ने अवस्थामा नरहेको पनि उनले बताए ।
‘नीतिगत र प्रक्रियागत रुपमा नै धेरै समस्या छन् । वनको समस्या, भूमिसँग सम्बन्धित, सहुलियत नपाएका लगायतका समस्या छन् । अन्तरनिकाय समन्वय हुन नसक्दा विभिन्न काम अड्किने गरेका छन् । तर सुधारका लागि अब पनि पर्खेर बस्ने समय छैन,’ उद्योगमन्त्री रिजालले भने ।
यस्ता समस्याबारे उद्योगी व्यवसायी बढी भुक्तभोगी रहेको पनि उनले बताए । अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र चर्को ब्याजदरको समस्या समाधानका लागि रिजालले सोही कार्यक्रमबाटै प्रधानमन्त्रीलाई आग्रहसमेत गरे ।









