काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनमा २५.३ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार फागुनसम्म विप्रेषण ७ खर्ब ९४ अर्ब ३२ करोड आएको छ । फागुनमा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण भित्रिएको राष्ट्र बैैंकले जनाएको छ । गत माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको थियो ।

चालू आर्थिक वर्षको आठ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो अप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या उक्त अवधिमा ८ प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४० दशमलव तीन प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय