काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि बिहीवार अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षीय प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थिए । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो ।

दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

महासंघको बुधबार भएको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनको आज बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गरेका थिए । साथै संघईले ३०.४६ मत प्राप्त गरेका थिए ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको १ हजार ६ सय २० मतमध्ये संघईले छ सय १३ मत प्राप्त गरे । साथै अञ्जनले ५ सय ७३ मत र उमेशलालले ४ सय २६ मत प्राप्त गर्नुभयो । साथै ८ मत बदर भए ।

जिल्ला नगरतर्फ कुल खसेको १ सय १७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गरे । साथै ३ मत बदर भए । वस्तुतगतर्फ खसेको १ सय २३ मतमध्ये उमेशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गर्नुभयो भने १ मत बदर भएको थियो ।

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ । साथै बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका थिए भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय