राजविराज– सूचना लुकाउने सप्तरीको राजविराज नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।

पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको चैत २९ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको हो ।

पत्रकार यादवले नगरपालिकामा उपलब्ध रहेको सवारी साधन (चालु, ठप्प र हाल मर्मत )को विवरण, आर्थिक वर्ष २०७८–७९ र हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण, आर्थिक वर्ष २०७८–७९ र हालसम्म खर्चिएको कुल बजेट (योजना शीर्षक अनुसार) को विवरण सहितको भौतिक प्रगति विवरण, आर्थिक वर्ष २०७८–७९ र हालसम्म फोहोर व्यवस्थापन र सरसफाइ शीर्षकमा खर्चिएको बजेट विवरण, नगरपालिकामा रहेको दरबन्दी र हाल कार्यरत रहेको कर्मचारी (स्थायी, अस्थायी, करार र डोर हाजिर) को नाम र ठेगाना सहितको विवरण, जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको सवारीसाधन (सवारी नम्बर र जनप्रतिनिधिको नाम उल्लेखित) विवरण, सवारी फिर्ता गरेको भए सोको विवरण माग गरी सूचना दर्ता गराएका थिए ।

त्यस्तै, सडक बोर्डबाट खर्चिएको कुल बजेट (योजना शिर्षक अनुसार) को विवरण सहितको भौतिक प्रगति विवरण, तीन आर्थिक वर्ष र हालसम्म औषधी र सेनेटरी प्याडको मूल्य उल्लेखित विवरण र खरिद गरिएको प्रक्रियाको आवश्यक कागजात, आर्थिक वर्ष २०७९–८० को हालसम्म खर्चिएको कुल बजेट (योजनाको शीर्षकअनुसार) को विवरण सहित भौतिक प्रगति विवरण माग पनि यादवले माग गरेका थिए ।

गत माघ २२ गते नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै यादवले गत फाल्गुन २६ गते निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवसँग सूचना मागेका थिए । प्रमुख प्रशासकीय अधिकृत यादवले तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार यादवले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए ।

आयोगमा फागुन २७ गते पुनरावेदन दर्ता भएको थियो भने ९४२/०७९/८० नम्बरको मुद्दामा निर्णय गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई दफा १० (२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय