बेनी– म्याग्दीको बेनी नगरपालिका–९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज गोमन) भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका चक्रबहादुर केसीले बताए । हिन्दुहरुले यसलाई नागराजा पनि भन्ने गर्छन् ।
विगत नौ वर्षदेखि पक्षी तथा जंगली प्राणीको खोज अनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर केशव चोखालले खड्काको घरमा भेटिएको सर्प दुर्लभ ‘किङ कोब्रा’ भएको पुष्टि गरेका छन् । उनका अनुसार २०७६ जेठमा पनि घतानकै कोसीपानीको जंगलमा उनले सोही प्रकारको कोब्रा फेला पारेका थिए ।
नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो कोब्रा पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताए । उनका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ ।
नेपालीमा राजनाग, कालीनाग भनिने यो सर्पको वैज्ञानिक नाम ‘ओपिओपगुस हन्नह’ हो ।
यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने कोब्रा भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुन सक्ने अध्येता चोखालको भनाइ छ । यो अत्यन्त विषालु प्रजातिको कोब्रा भए पनि नेपालमा भने यसको टोकेको जानकारी नरहेको उनले बताए ।
यो कोब्रालाई नचलाउने, नजिस्काउने र नजिक नजाने हो भने यसबाट बच्न सकिने अध्येता चोखालको भनाइ छ । म्याग्दीमा २०७६ मा भेटिएको सो सर्प ‘किङ कोब्रा’ नै भएको किङ कोब्रा विशेषज्ञ एवं हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका थिए । अहिले पनि सोही कोब्रा पुनः खड्काको घरमा भेटिएको प्राणीशास्त्रका जानकार चोखालले बताए । उनका अनुसार नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्राको संख्या अत्यन्त न्यून छ ।
यो विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो । यो सर्प दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका १६ देशमा मात्रै पाइन्छ । थाइल्यान्डको जंगली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातिमा पर्ने उनले जानकारी दिए । उनका अनुसार यसले आहाराको रुपमा अन्य सर्पलाई नै खाने गर्छ । कहिलेकाँही आफ्नै प्रजातिका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उनको भनाइ छ । यसलाई विश्व संरक्षण संघको रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको छ ।
नेपालको कानुनले पनि यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । उनका अनुसार यो सर्प विश्वव्यापी रुपमा नै अति कमलाई मात्र जानकारी भएको सर्प हो ।









