काठमाडौं– सरकारी स्वामित्वको वायुसेवा कम्पनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज गरी करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २ अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ भुक्तानी गरेको हो ।

निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको २०७९ असारदेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।

निगमले २०७९ चैतको किस्ताबापत दुवै कोषलाई जम्मा ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ ।

सोही वर्षको असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८ सय ४४ रुपैयाँ भुक्तानी गरिएको निगमले जनाएको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण निगमको व्यापार खुम्चिएको थियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुवै कोषलाई नियमितरुपमा किस्ता तिर्न सकिएको प्रवक्ता पौडेलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय