काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार उक्त अवधिमा २ हजार ४५१ वटा विद्युतीय सवारीसाधान आयात भएको छ । गत आवको सोही अवधिमा १ हजार ४७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।
विभागको तथ्यांकअनुसार चैतमा मात्रै २५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा ११६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो ।
विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका १ हजार ७५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।
भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाट क्षमताका ३८१, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका २४०, र इन्डोनोसियाबाट ३ वटा विद्युतीय सवारी साधान आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट २ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।
भन्सार विभागका अनुसार चीनबाट २०० सयदेखि ३०० किलोवाट क्षमताका ५ र बेलायतबाट २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
समीक्षा अवधिमा भारतबाट मात्रै ४ अर्ब ७१ करोड ९८ लाख बराबर रुपैयाँको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।
झन्डै ७ अर्बका विद्युतीय गाडी आयात
चालू आर्थिक वर्षको ९ महिनामा करिब ७ अर्ब रुपैयाँ मूल्यका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म २ हजार ४५१ वटा विद्युतीय सवारी आयातमा ६ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ ।
विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले १ अर्ब १६ करोड ५५ लाख २० हजार राजस्व संकलन गरेको थियो ।









