काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेको अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत वैशाख महिनाभरि बीमालेखको नवीकरण शुल्क ई(सेवामार्फत भुक्तानी गर्ने ग्राहकले ५ वा २३० रुपैयाँसम्म क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ । कम्पनीले बीमालेख नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन–पे, कनेक्ट आइपीएस, आइएमई–पे र प्रभु–पेसँग सम्झौता गरेको छ । कम्पनीका ग्राहकले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले घरबाटै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्नेसमेत पराजुलीले बताएका छन् ।









