काठमाडौं– आयातमा भन्सारसम्बन्धी असमान व्यवस्थाका कारण इन्टेरियर डिजाइनको स्वदेशी उद्यममा समस्या बढ्दै गएको छ । व्यावसायिक प्रतिष्ठान तथा आवासमा यस्तो सेवा तथा वस्तु आपूर्ति गर्ने स्वदेशी इन्टेरियर उद्योग भारतबाट तयारी वस्तु नै सस्तो भन्सार दर भित्रने भएपछि समस्यामा पर्न थालेका हुन् ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को प्रावधान र त्यसअनुसार नेपालको आर्थिक विधेयकले गरेको व्यवस्थाका कारण विश्वका विभिन्न मुलुकबाट कच्चा पदार्थ ल्याउनुभन्दा तयारी वस्तु नै भित्र्याउन कम भन्सार दर तिर्नुपर्ने भएकाले यो उद्यम समस्यामा परेको संलग्न व्यवसायीले बताएका छन् ।

नेपालमा भेनेगर, फरमाइका, मोड्युलर लेग्स हार्डवेयर च्यानल विशेष खालका मार्बल फाइबर विश्वका विभिन्न मुलुकबाट आयात हुने र त्यसलाई डिजाइन आवश्यकता अनुसार श्रम सीप प्रयोग गरी इन्टेरियर डिजाइनका समान उत्पादन गर्ने गरिन्छ । डिजाइन सिर्जना माग र गुणस्तरअनुसार यी उद्योगले यस्ता सामान चीन, थाइल्यान्ड, कोरिया तथा युरोपेली मुलुकबाट आयात गर्नुपर्ने हुन्छ । तर भन्सारसम्बन्धी असमान व्यवस्थाका कारण नेपालमा सामान उत्पादन हुने अवस्थामा पनि भारतबाटै तयारी सामान ल्याउने प्रचलन बढेको नेस्ट फर्निचरकी कार्यकारी निर्देशक सपना सापकोटा बताउँछिन् । ‘हामी नेपाली सीप र श्रमको प्रयोग गर्दै उच्च गुणस्तरका सामान उत्पादन गर्छौं तर पछिल्लो समय भारतबाटै तयारी मालवस्तु सस्तोमा ल्याउन पाउने व्यवस्थाले हाम्रा उद्योग मात्र होइन यसमा संलग्न हजारौं श्रमिक तथा युवाको रोजगारी जोखीममा परेको छ,’ उनले भनिन् ।

सापकोटाका अनुसार सुविधासम्पन्न व्यावसायिक प्रतिष्ठान तथा तारे होटलहरुको इन्टेरियर डिजाइन स्वदेशी उद्योगबाटै गर्दा श्रमिकका लागि करिब २ वर्ष निरन्तर रोजगारी सिर्जना हुन्छ । ‘तर नेपालमा डिजाइन गर्ने र सामान भारतबाट ल्याउँदा यस्ता उद्योग र रोजगारी मासिने अवस्था छ,’ उनले भनिन् ।

दक्षिण एसियाली मुलुकहरुबीच स्वतन्त्र व्यापार प्रवर्द्धन गर्न भन्दै दक्षिण एसियाका ८ मुलुकले साफ्टा कार्यान्वयनमा ल्याएका थिए । सन् २००१ जुलाईदेखि यो कार्यान्वयनमा आएसँगै संवेदनशील बाहेकका वस्तु सस्तो भन्सारदरमा अन्तरदेशीय व्यापार गर्नुपर्ने हुन्छ । साफ्टाकै प्रावधानअनुसार एकीकृत भन्सार महसुल दरबन्दी अनुसार इन्टेरियर डिजाइनका लागि आवश्यक विलासी प्रकृतिका तयारी फर्निचर भारतबाट आयात गर्दा ११.२५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थप गरे पुग्छ । तर सार्क बाहेक विभिन्न मुलुकबाट पार्टस तथा कच्चा पदार्थ आयात गर्ने नेपाली उद्यामीले ३० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने व्यवस्था छ ।

‘तयारी सामान नै सस्तोमा आउने र स्वदेशी फर्निचरलगायत इन्टेरियर डिजाइनका उद्योग र श्रमिक त सिद्धिने अवस्थामा पुग्ने भए,’ सापकोटा भन्छिन्, ‘साफ्टाले गरेको यस्तो उल्टो र स्वदेशी उद्योगविरोधी प्रावधान हटाउन सरकार लाग्नुपर्छ ।’ सार्क मुलुकबाट आयातित हुने भए पनि विलासी प्रकृतिका यस्ता सामान सफ्टाको सूचीबाट हटाउन सके घट्दो क्रममा रहेको राजश्व संकलनमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ ।

पछिल्लो समय नेपाली इन्टेरियर डिजाइन उद्योगहरुले ठूला तारे होटल, व्यावसायिक कम्प्लेक्स, निजी आवासलगायत प्रिमियमस्तरका संरचनाको इन्टेरियर उच्च व्यावसायिक अभ्यास र गुणस्तरसहित सम्पन्न गर्ने क्षमता राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय