काठमाडौं– विद्युतीय सवारी साधनले ठूलो मात्रामा इन्धन खर्च जोगाउने पुष्टि भएको छ । विद्युतीय सवारी साधनमा काठमाडौंबाट विराटनगरसम्म पुग्दा जम्मा १५३ रुपैयाँ ३५ पैसा खर्च भएको पूर्वपत्रकार तथा अध्यापक अरुण पौडेलले जानकारी दिएका छन् ।
लुम्बिनी कलेज अफ बुद्धिजम एन्ड हिमालयन स्टडिजका अध्यापक पौडेलले काठमाडौंदेखि विराटनगरसम्म टाटाको विद्युतीय गाडीमा जाँदा १५३ रुपैयाँ ३५ पैसाको ब्याट्री चार्ज खर्च लागेको बताएका हुन् ।
विद्युतीय सवारी साधनको सञ्चालन खर्च पेट्रोलियम इन्धनको तुलनामा नगन्य रहे पनि चार्जिङ स्टेसन पर्याप्त नभएको गुनासो पौडेलले गरेका छन् । उनले चार्जिङ स्टेसन थप्न नेपाल विद्युत् प्राधिकरण र विद्युतीय सवारी साधनका विक्रेतालाई सुझाएका छन् ।
उनी आफ्नो सामाजिक सञ्जालमा लेख्छन्, ‘काठमाडौंबाट १५३ रुपैयाँ ३५ पैसाको ब्याट्री चार्जमा विराटनगर पुगियो । अबको युग इलेक्ट्रिक गाडीको । चार्जिङ् स्टेसन चै थप्नु पर्यो,’ पौडेलले आफ्नो फेसबुक वालमा लेखेका छन्
द काठमाठौं पौस्ट, रिपब्लिका, अन्नपूर्ण एक्सप्रेस जस्ता पत्रपत्रिकामा काम गरेका पूर्वपत्रकार पौडेले अहिले लुम्बिनी कलेज अफ बुद्धिजम एन्ड हिमालयन स्टडिजमा बौद्ध दर्शनको प्राध्यापन गर्छन् ।
बीपी राजमार्ग (धुलिखेल–सिन्धुली) हुँदै विराटनगर पुग्न ३७७ किलोमिटर दुरी तय गर्नुपर्छ । पेट्रोलबाट चल्ने सवारी साधनमा यति यात्रा गर्दा चार हजार रुपैयाँभन्दा बढीको इन्धन खर्च लाग्ने जानकार बताउँछन् ।









