गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पर्ने भच्चेक काफलडाँडास्थित जीवनज्योति माध्यमिक विद्यालयलाई कृषि विकास बैंकले कम्प्युटर, प्रिन्टर र अन्य शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई उक्त सहयोग उपलब्ध गराएको हो ।
आइतबार विद्यालयमा आयोजित एक समारोहमा बैंकका पालुङटार शाखाका शाखा प्रबन्ध अर्जुनराज पाठकले ती सामग्री विद्यालयका प्रधानअध्यापक हरिराम दवाडीलाई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले सुशीला स्मृति प्रतिष्ठानका संयोजक कुस्माखर अधिकारीको पहलमा जीवनज्योति माध्यमिक विद्यालयलाई उक्त सामग्री उपलब्ध गराएको हो ।
विद्यालयका प्रधानअध्यापक दवाडीले उक्त सहयोगका लागि बैंकलाई धन्यवाद ज्ञापन गर्दै यो सहयोगले पठनपाठनको प्रभावकारिता वृद्धिमा योगदान गर्ने बताए ।
सामग्री हस्तान्तरण समारोहमा प्रतिष्ठानका संयोजक अधिकारी, अजिरकोट गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीलगायतको उपस्थिति रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।









