काठमाडौं– चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा मारवाडी समुदायका व्यवसायी प्रदिप रुंगटासहित दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए ।

परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका व्यवसायी प्रदीप रुंगटा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राति सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत उजुरी आएको बताए ।

कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य थिए । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले परिवारका तर्फबाट किटानी जाहेरी प्रहरी प्रमुख कार्कीको ह्वाट्सएपमा पठाएका हुन् । कँडेलले आत्महत्याअघि लेखेको नोट अध्ययन गरेर अर्को उजुरी दिएको सभापति खनालले जानकारी दिए । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको सेयर व्यवसायी रुंगटालाई बेचेका थिए ।

सेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुंगटा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । उजुरीपछि दुवैजनाको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धान साँझबाटै सुरु गरिएको उनको भनाइ छ । कँडेल जिल्लाका लोकप्रिय थिए । भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारमा दाबी गर्दै आएका उनी गठबन्धन बनेसँगैपछि तत्कालीन समयमा पछि हटेका थिए । उनी भरतपुर महानगरपालिका–८ निवासी रहेका थिए ।

रुंगटा ओम चाओ विरो फिड इन्डस्ट्रिज, आमे चावो विरो पेलेट फिड इन्डस्ट्रिज लगायतका सञ्चालक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय