काठमाडौं– गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा एटिएम सेवा सुरु गरेको छ ।
मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई लक्ष्य गरी उक्त एटिएम सुरु गरेको बैंकले जनाएको छ । बैंकका सञ्चालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले उक्त एटिएम उद्घाटन गरेको बैंकको भनाइ छ ।
म्याग्दीकै पर्यटकीयस्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकलाई गरिमा विकास बैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेबिट–क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।









