काठमाडौं– गत चैतसम्ममा मुलुकको शोधनान्तर स्थिति १८० अर्ब १७ करोड रुपैयाँले बचतमा पुगेको छ । पोहोर चैत मसान्तमा २६८ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति आयातमा कमी, रेमिट्यान्स आप्रवाहमा वृद्धि र पर्यटन क्षेत्रको पुनरुत्थानका कारण बचतमा गएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत चैतसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार चालु खाता भने ५१ अर्ब ८२ करोडले घाटामा छ । पोहोर चैत मसान्तमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा थियो ।
गत साउनदेखि चैतसम्मको अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आई रु.५ अर्ब ९१ करोड कायम भएको र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रहेको राष्ट्र बैंकको भनाइ छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ थियो ।









