काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरेको छ । केन्द्रिय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत उक्त कदम चालेको हो । केन्द्रिय बैंकले ब्याजदर करिडोरअन्तर्गतका अन्य दरहरुलाई भने यथावत राखेको छ ।
बैंक दरमा गरिएको कटौतीले ब्याजदर घटाउन योगदान पुग्ने अपेक्षा गरिएको छ । बैंकदर भनेको केन्द्रीय बैंकले अन्य बैंक वित्तीय संस्थालाई दिने ऋणमा लिने ब्याददर हो । यसले कोषको लागत कम पर्न जान्छ, जसले गर्दा र बैंक वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउन सक्छन् ।
केन्द्रीय बैंकले बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्द्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको थियो । जसले गर्दा अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमीे आएको राष्ट्र बैंकको भनाइ छ । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको पनि समीक्षामा उल्लेख छ ।
मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुकोसम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई भने ७ प्रतिशतमा यथावत राखिएको राष्ट्र बैंकको भनाइ छ ।









