गुल्मी– रेसुंगा विमानस्थलमा नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ९एन–एबीटी ट्विनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मंगलबार पनि उडान भर्ने तयारी गरेको छ ।

निगमको जहाजले दुई हप्ता अगाडि रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो । व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आएका रेसुंगा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौंबाट केही समयमै गुल्मी आउन पाएको बताइन् । हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनुभूति आफूले गरेको उनले सुनाइन् ।

शुक्रबार बिहान ६ः३० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः१५ बजे रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।

‘परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौं,’ क्याप्टेन विष्टले भने, ‘हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मंगलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।’ रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौंमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए ।

‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौं,’ उनले भने, ‘नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।’ उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुंगा विमानस्थलमा अवतरण भएको थियो । फर्किंदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो । पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु ६ हजार ३०० भाडादर कायम गरिएको छ ।

रेसुंगा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय