काठमाडौं– मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा (एमडीएमएस) दर्ता हुन बाँकी मोबाइललाई उक्त प्रणालीमा दर्ता हुन २०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।
सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार २०८० जेठ १५ सम्म सञ्चालनमा रहेका तर एमडीएमएसमा दर्ता नभएका मोबाइल असार मसान्तसम्म दर्ता गराउनुपर्नेछ ।
त्यस्ता फोनहरु आइएमइआई नम्बरसहित एमडीएमएसमा दर्ता गराउनुपर्ने बताइएको छ । दर्ताको एकमुष्ठ महसुलबापत आइफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोन भए १० हजार रुपैयाँ र अन्य स्मार्टफोन भए ३ हजार रुपैयाँ तिरेर तिर्नुपर्ने बताइएको छ । स्मार्ट बाहेकका फोनको हकमा २ सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।
उक्त रकम अर्थ मन्त्रालयले तोकेको राजस्व खातामा बुझाउनुपर्ने आर्थिक विधेयकमा उल्लेख छ । ‘राजस्व खातामा रकम जम्मा गरेको प्रमाणसहित एमडीएमएस प्रणालीमा दर्ता गर्न चाहेमा नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता मोबाइल दर्ता गरिदिनेछ,’ विधेयकमा भनिएको छ ।
तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई ६ महिनाभन्दा बढी अवधि विदेश बसेर फर्केको नेपालीको हकमा सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेको एक थान मोबाइल भने प्राधिकरणले निःशुल्क दर्ता गर्नेछ ।









