लुम्बिनी– पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मेसम्म ४ लाख ७० हजार ५४२ भन्दा बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।
सन् २०२२ को जनवरीदेखि मेसम्म ३ लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षको भन्दा यस वर्षको संख्या १ लाख ८ हजार ४८६ ले बढी छ ।
सन् २०२३ को जनवरीदेखि मेसम्ममा ६७ देशका ३४ हजार ४१३ जना राहदानी लिएका, ३ लाख २४ हजार २६८ नेपाली र १ लाख ११ हजार ८६१ भारतीय नागरिकले बुद्ध जन्मस्थलको भ्रमण गरेको तथ्यांक छ । गत वर्ष दुई हजार छ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार ७७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ ।
यस पाँच महिनामा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका ८ हजार २४७, श्रीलङ्काका ५ हजार ७२१, म्यान्माका ५ हजार ३९८, भियतनामका ३ हजार २३५, कोरियाली २ हजार ६२९, चिनियाँ १ हजार २०८ र अन्य देशका ७ हजार ६७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी २ हजार ६८७, नेपाली २ लाख ८९ हजार ५९४ र भारतीयको संख्या ६९ हजार ७७५ रहेको थियो । तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी ६ हजार ९२३, थाई ४ हजार ३८०, श्रीलंकन १ हजार ८८५, म्यान्मा १ हजार ४९५ तथा अन्य ९ हजार २५९ छन् ।
कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका १ हजार १९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार १०७, फेब्रुअरीमा २१ हजार ६६७ र मार्चमा ८ हजार ३६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट २ हजार १६६ गरी कुल ४५ हजार ३२९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए ।
सन् २०२१ मा ४ लाख ६३ हजार ६६३ जना नेपाली र ४३ हजार ७३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा २ लाख १० हजार ३३ जना नेपाली र ३७ हजार २०६ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।
त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी १५ लाख ५८ हजार ३२६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी ९भिक्षु मैत्रेय०ले लुम्बिनीमा पर्यटक संख्याको वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताए ।









