काठमाडौं– असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी) को पनि आयोजना गर्ने बताइएको छ । कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञसहित ७० बढी स्रोत व्यक्तिहरु सहभागी हुनेछन् ।
काठमाडौंको सोल्टी होटलमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सत्र सञ्चालन हुनेछन् । दुईदिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिति रहने आयोजकको भनाइ छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने बताइएको छ ।
कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय विज्ञहरुको ४ वटा कि–नोट र मन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुनेछ । यसैगरी पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धी सेसनहरु रहेका छन् ।
कन्क्लेभको दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरु रहेका छन् । यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरु सञ्चालन हुने बताइएको छ । कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोबाइल वर्ल्ड कंग्रेसको रुपमा मोबाइल नेपाल कंग्रेस आयोजना गर्नेछ । सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिको जानकारी मोबाइल कंग्रेसमा पाउनेछन् ।
ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ एन्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कंग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको छ ।
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजिटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिनेछ ।
कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ लगायतको सहयोग रहेको छ । यसैगरी कार्यक्रमको कनेक्टेड बाइमा नेपाल टेलिकम, सेक्युरिटी पार्टनरमा चेकपोन्ट, पेमेन्ट पार्टनरमा आइएमइपे, आइटी ट्रेनिंङ पार्टनरमा ब्रोडवे इन्फोसिस, इन्टरनेट पार्टनरमा डीसहोम रहेका छन् । सहयोगी सस्थाहरुमा एसिया फाउन्डेसन, फ्रोस्ट एन्ड सुलेभन नेपाल, कोड हिमालय, स्काई ब्रोडब्यान्ड, बारकोड, टेक्नोरियो लगायतको सहकार्य रहेको छ ।









