हेटौंडा– सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० मा पनि ११ करोड १५ लाख घाटा बेहोरेको छ । आर्थिक वर्ष २०७४–७५ पछि उद्योगले निरन्तर घाटा बेहोर्दै आएको हो ।

उद्योगको घाटा ९० करोड रुपैयाँ नाघिसकेको छ । आर्थिक वर्ष २०७४–७५ मा उद्योगले १६ करोड ३६ लाख ३ हजार ४९९ रुपैयाँ नाफा कमाएको थियो । यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्यांक छ ।

आर्थिक वर्ष २०७५–७६ मा उद्योगलाई २३ करोड ८२ लाख २४ हजार उद्योगलाई घाटा भएको थियो ।

आर्थिक वर्ष २०७७–७८ मा १७ करोड ४ लाख ४० हजार ६६९, आर्थिक वर्ष २०७८–७९ मा २३ करोड ५५ लाख १० हजार ९६९ र चालू आर्थिक वर्षमा ११ करोड १५ लाख ६३ हजार ३९५ घाटा भएको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए ।

उद्योगमा कच्चा पदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ ।

महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले योजना उद्योग मन्त्रालयमा प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताए । उनका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन् ।

उद्योगले एक महिनापछि यही सोमबारदेखि पुनः क्लिंकर उत्पादन सुरु गरेको छ । अब तीन महिनाका लागि उद्योगमा कच्चा पदार्थ तयारी रहेको बताउँदै तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उत्पादन तथा बिक्री भइरहेको छ । उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट स्टक छ । उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण भएकाले त्यसलाई घटाउँदै उद्योगलाई समायोजन गर्नतर्फ आफू लागिपरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय