इटहरी– विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो ।

रमडाको मातृ कम्पनी विंडहाम होटल्स एन्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतबीच भारतको दिल्लीमा शुक्रबार होटल सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापछि बोल्दै बस्नेतले नेपालको पर्यटन प्रवर्द्धन र होटल व्यवसायको प्रवर्द्धनमा नयाँ खुड्किलो भएको बताएका छन् ।

उनले रमडा ब्रान्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले विंडहाम होटेल्स कम्पनीसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने जनाएका छन् ।

कार्यक्रममा बोल्दै विंडहाम होटल्स एन्ड रिसोर्ट युरेसियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले नेपालमा आफ्नो ब्रान्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकलाई विश्वस्तरीय आतिथ्यता दिने बताए ।

यस्तो हुनेछ होटल
निर्माणाधीन पाँचतारे उक्त होटलमा कुल ८ तला छन् भने ८० वटा कोठा रहेका छन् । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल आदि सेवा रहनेछन् ।

होटलमा विवाह, पार्टी, सेमिनारका लागिसमेत कोठा व्यवस्थापन गरिने बताइएको छ ।

भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घन्टामा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकलाई विश्वस्तरीय होटलको सुविधा दिने दाबी गरिएको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवसायिक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्नेछ ।

होटलले सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ ।

के हो रमडा ?
विंडहाम होटल्स एन्ड रिसोर्टसलाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनी मानिन्छ । यो अमेरिकी कम्पनिले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एसियामै मात्र पनि २० वटा देशका १ हजार ६ सय बढी होटल सञ्चालनमा ल्याएको छ ।

होटल व्यवसायमा अघि बढ्दै बस्नेत
नेपालमा एकपछि अर्को स्टार तथा अन्तर्राष्ट्रिय स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइरहेका बस्नेतले हालै मात्र काठमाडौंमा निर्माणाधिन पाँचतारे होटलमा एक्कोर समूहको मर्क्योर ब्रान्ड भित्र्याएका थिए । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका उनी अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतीको रुपमा नेपालको पर्यटन विकासमा व्यवसायीहरुको संस्थागत नेतृत्व गरिरहेका छन् ।

यस्तै उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँचतारे स्तरकै सरोबर प्रिमियम ब्रान्डमा सरोबर होटल्स एन्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् ।

पेसाले इन्जिनियर बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुन् । एबी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तर्गत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय