काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नम्बर १७ का वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखाअधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालयसिंह ऐर र गोविन्दराज उपाध्यायविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले भवानी कन्सट्रक्सन प्रालिका सञ्चालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधिहरू दिवाकर भट्ट र ईश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टविरूद्ध पनि मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार नगर प्रमुख विष्टलगायत दुई प्रमुख प्रशासकीय अधिकृतले आर्थिक वर्ष २०७७–७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियमविपरीत छुट दिँदा भ्रष्टाचार भएको देखिएको हो ।
तत्कालीन मेयर विष्ट र प्रशासकीय अधिकृत भट्टले ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको आयोगको निष्कर्ष छ । उनीहरूसँग बिगोको दोब्बर जरिवाना र कैद सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
कन्स्ट्रक्सनका सञ्चालकहरूमधये ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेको हुँदा बिगो रकम उनकी श्रीमतीबाट भराउनुपर्ने माग अख्तियारले गरेको छ ।









