बेनी– मंगला गाउँपालिका–१, भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिइरहेकी छिन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुन्ने सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको गलैंचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ ।
परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाएकी पुनले गलैंचा, झोला, गलबन्दी, स्वीटरलगायतका कपडा बुन्छिन् । आफूले उत्पादन गरेका गलैंचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले जानकारी दिइन् । ‘अमेरिकाबाट गलैंचा बुनिदिन धेरैले फोनमा खबर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैंचा लैजाने गर्छन्,’ उनले भनिन् ।
एउटा गलैंचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई ७ हजारसम्ममा बिक्री हुने गरेको वृद्धा पुनले बताइन् । फुर्सदको समयलाई बुनाइमा लगाउँदै आएकी उनले यही पेसाबाट जीविकोपार्जन गरिरहेकी छिन् । गलैंचा बिक्रीबाट आएको पैसाले गरगहना बनाएको पनि उनले सुनाइन् ।
मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले दैनिकी चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु,’ उनले भनिन् ।
झोला, गलबन्दी, स्वीटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेको छ । गलैंचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने बृद्धा पुनको भनाइ छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैंचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो ।
उनले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै आएकी छिन । ज्येष्ठ नागरिकले पनि सामाजिक संघसंस्थाको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण उनी बनेकी छिन् । २०५२ सालमा स्थापना भएको स्थानीय गोदावारी आमा समूहलाई उनले विगत २८ वर्षदेखि नेतृत्व गर्दै आएकी छिन् ।









