काठमाडौं– पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा १ सय ६४ मेगावाट बिजुलीको आपूर्ति अवरुद्ध भएको छ ।

निजी क्षेत्रको ऊर्जा उत्पादकको संगठन स्वतन्त्र ऊर्जा उत्पादनको संस्था नेपाल (इपान)ले बाढीपहिरोका कारण ४ सय ६३ मेगावाट क्षमताका ३० आयोजनामा ८ अर्ब ५० करोड बराबरको प्रारम्भिक क्षति भएको जानकारी दिएको छ ।

हाल प्राधिकरणको प्रणालीमा विभिन्न १० आयोजनाको बिजुली उपलब्ध हुनसकेको छैन । त्यसबाट प्राधिकरणलाई बिजुली व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।

प्राधिकरणका अनुसार काबेली करिडोरका काबेली ‘बी’ एक २५ मेगावाट, काबेली ‘बी’ एक क्यासकेड ९.९४ मेगावाट, इवा खोला ९.९ मेगावाट, हेवा खोला १४.९ मेगावाट र तल्लो हेवा २२ मेगावाट बराबरको बिजुली प्रणालीमा आउन सकेको छैन । ती आयोजनाको कुल क्षमता ८१.७४ मेगावाट छ ।

त्यस्तै, एउटा युनिटमा समस्या आएका कारण ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला आयोजनाबाट ३.७५ मेगावाट मात्रै बिजुली प्रणालीमा जोडिएको छ । ‘सिंक्रोनाइजिङ ब्रेकर’मा समस्या आएका कारण सोलु दूधकोसी जलविद्युत् आयोजनाले पनि पूर्णक्षमतामा बिजुली उत्पादन गर्न सकेको छैन ।

सो आयोजनाको क्षमता ८६ मेगावाट भए पनि हाल २८.६ मेगावाट मात्रै प्रणालीमा उपलब्ध रहेको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । दोर्दी करिडोरको सुपर दोर्दीले पनि कुल क्षमताको ५० प्रतिशत मात्रै बिजुली उत्पादन गरेको छ । सो आयोजनाको कुल क्षमता ५४ मेगावाट भए पनि हाल २७ मेगावाट मात्रै बिजुली उत्पादन गरिरहेको छ ।

दोर्दी आयोजनाले १८ मेगावाट मात्रै बिजुली प्रणाली पठाइरहेको छ । सो आयोजनाको क्षमता २७ मेगावाट हो । ५ मेगावाट क्षमताको घलेम्दीको ‘पेनस्टक पाइप’मा समस्या आएकाले हाल प्रणाली बाहिर छ ।

प्राधिकरणका प्रवक्ता शुरेबहादुर भट्टराईले पूर्वी नेपालका परियोजना बन्द हुँदा त्यसको व्यवस्थापनका लागि माथिल्लो तामाकोशी र सोलु करिडोरका अन्य आयोजनाको बिजुली पूर्वी नेपालतर्फ पठाइएको जानकारी दिए ।

बाढीपहिरोका कारण आयोजना पूर्णरुपमा बन्द हुँदा त्यसको व्यवस्थापनका लागि प्राधिकरणलाई केही समस्या भए पनि वर्षाका कारण अन्य आयोजनामा उलेख्य मात्रामा बिजुली उत्पादन भएकाले समस्या नभएको उनको दाबी छ । विद्युत् खरिद सम्झौताअनुसार नै केही आयोजनालाई कम भारमा आयोजना चलाउन भनिएको प्रवक्ता भट्टराईको भनाइ छ ।

‘निजी उद्यमीले भने जस्तो होइन, केही आयोजनालाई विद्युत् खरिद सम्झौता अनुसार नै भनिएको हो,’ प्रवक्ता भट्टराईले भने, ‘आवश्यक पर्दा पूर्ण क्षमतामा नै चलाउन भनिएको छ । यो बारेमा पनि उहाँहरुले भनिदिनुपर्छ ।’

इपानका अध्यक्ष गणेश कार्कीले प्राधिकरणका कारण ३० जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बराबरको विद्युत् खेर गएको आरोप लगाउनुभयो । प्रवर्द्धनहरूले आधा क्षमतामा आयोजना चलाएर बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

हाल देशभित्रको कुल माग १ हजार ८ सय ८१ मेगावाट छ । यस्तै वर्षालगायतका कारणले ४०० मेगावाट घण्टा ऊर्जा भने उपलब्ध हुनसकेको छैन । हाल निजी उद्यमीका आयोजनाबाट २२ हजार ७ सय ५० मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय