काठमाडौं– विनियोजन विधेयक, २०८० बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।

विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको थियो । सभामुख देवराज घिमिरेले सो संख्या प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले विनियोजन विधेयक पारित भएको घोषणा गरे ।

आजको बैठकमा २५५ सांसदको उपस्थिति थियो । त्यसअघि सभामुख घिमिरेले मत विभाजनका लागि पाँच मिनेट जनाउ घन्टी बजाउन सचिवालयलाई निर्देशन दिई आवश्यक प्रक्रिया अगाडि बढाएका थिए ।

त्यसअघि अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उनले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गरेका थिए । त्यसपछि नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए । मत विभाजनको माग भएपछि सभामुखले उक्त प्रक्रिया अगाडि बढाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय