उलानबाटोर (मंगोलिया)– नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन् । नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको रिसर्च एन्ड डेभलप्मेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्री (आरडीआईएलआई) बीच यस विषयमा बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा संघको तर्फबाट अध्यक्ष विजय दुगड र आरडीआईएलआईको तर्फबाट निर्देशक तुमुंख टोग्मिडले हस्ताक्षर गरेका हुन् ।
समझदारी अन्तर्गत नेपाली पश्मिना व्यवसायीले ऊन तथा पश्मिना धागो, अर्धप्रशोधित भूवा तथा ऊनबाट बनेका उत्पादनहरूको नमूनाहरूलाई आरडीआईएलआईमा गुणस्तर परीक्षण तथा विश्लेशण गर्ने एवं यस व्यवसायमा आफ्ना ज्ञान, अनुभव एवं अनुसन्धान कार्यबारे दुवै पक्षले आपसमा जानकारी आदानप्रदान गर्नेछन् । हस्ताक्षर भएको दिनदेखि लागू भएको यो सहमतिको अवधि ५ वर्षको हुने र दुवै पक्षको आपसी समझदारीमा यसको अवधि बढाउन सकिनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मंगोलियाका खाद्य कृषि तथा हल्का उद्योगका राज्य सचिव जम्बाल्त्सेरेन तुमुर–उयाको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा मंगोलियाको उलानबाटोरमा जारी वर्ल्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरम २०२३ मा नेपाली सरकारी उच्च अधिकारी तथा निजीक्षेत्रको प्रतिनिधि सम्मिलित प्रतिनिधमण्डल सहभागिताको अवसरमा उक्त समझदारी भएको हो । चार दिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्ठित राष्ट्रहरूका व्यावसायिक आवाज, व्यवसायीहरूबीचको बैठक, उद्यममा युवा तथा महिला सहभागिता तथा स्थानीय नवप्रवर्तन सहित डिजिटल रूपान्तरण लगायतका विषयमा व्यवसायी, नीति निर्माता, विकास साझेदार निकायका प्रतिनिधिहरू, विज्ञहरूबीच विभिन्न छलफल सत्रहरू सञ्चालन भएका थिए ।
युरोपियन युनियनको सहयोगमा सञ्चालित इयू नेपाल व्यापार तथा लगानी कार्यक्रमले नेपाली पश्मिना व्यवसायीहरूलाई उक्त सम्मेलनमा सहभागिताका लागि सहयोग गरेको हो । सोमबार सुरू भएको उक्त सम्मेलनमा निर्यात प्रवर्धनसँग सम्बन्धित विभिन्न छलफल सत्रहरू तथा व्यवसायिक सम्पर्कका कार्यक्रमहरू सञ्चालन भएका थिए ।
उक्त अवसरमा सचिव मरासिनीले ऊन तथा भूवा उत्पादनमा मंगोलियाको अनुभवबाट नेपाली पश्मिना व्यवसायीहरूले फाइदा लिन र यस क्षेत्रमा विभिन्न अनुसन्धान एवं क्षमता विकासको लागि यस समझदारी महत्त्वपूर्ण रहेको बताए।
आरडीआईएलआईका निर्देशक जम्बाल्तसेरेन तुमुर–उयाले मंगोलियासँग सहकार्यको समझदारीले नेपालमा नेपाली कास्मिरी उत्पादनको गुणस्तर परीक्षण र विश्लेषण सहज हुनुका साथै दुवै मुलकबीच व्यावसायिक सम्बन्ध विस्तार तथा यस क्षेत्रमा नयाँ अनुसन्धानको लागि ढोका खोलिएको बताए । पश्मिना उद्योग संघका अध्यक्ष दुगडले कास्मिरी तथा ऊनजन्य वस्तु उत्पादन तथा निर्यातमा विश्वमा अग्रणी मंगोलियाको लामो अनुभव तथा विज्ञतालाई उपयोग गर्ने अवसर यस समझदारीले दिएको बताए ।
वाणिज्य सचिव र मंगोलियाली राज्य सचिव भूपरिवेष्ठित राष्ट्रका साझा समस्याबारे कुराकानी
यसैबीच नेपाल सरकारका सचिव मरासिनी र मंगोलियाका राज्य सचिव जम्बाल्तसेरेन तुमुर–उयाबीच अन्तर्राष्ट्रिय मञ्चहरूमा भूपरिवेष्ठित राष्ट्रको हितको लागि उठाइनुपर्ने आवाजबारे कुराकानी भयो । पश्चिमना तथा ऊनको क्षेत्रमा दुवै देशका निजी क्षेत्रबीच आपसी सहयोगलाई अझ सशक्त बनाउने तथा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूले भोगिरहेका साझा समस्याहरू तथा चुनौतीबारे अन्तर्राष्ट्रिय मञ्चमा उठ्ने आवाजमा दुवै मुलुकले ऐक्यबद्धता जनाउनेबारे उक्त अवसरमा छलफल भएको थियो ।
साथै, दुवै सचिवबीच सन् २०२४ मा रुवाण्डाको किगालीमा आयोजना हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनलाई उत्पादनमुलक र फलदायी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो । वर्ल्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरमको अवसरमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको राष्ट्रिय फोकल पोइन्टहरूको बैठक पनि उलानबाटार हुँदैछ ।









