काठमाडौं– स्वदेशी लगानीको प्राइम सेरामिक्सले अन्तर्राष्ट्रिय गुणस्तरको टायल उत्पादन थालेको जानकारी दिएको छ । कम्पनीले ‘प्राइम टायल’को उत्पादन सुरु गरेको हो ।
लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाललगायतले मधेश प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका छन् ।
२ अर्ब लगानीमा स्थापना गरिएको उद्योगले हाल तीन सयजनालाई रोजगारी समेत दिएको प्राइम सेरामिक्सका अध्यक्ष गर्गले जानकारी दिए । ‘अब टे«डर्स होइन, उद्योगी बन्नुपर्छ भन्ने सोचका साथ उद्योग स्थापना गरेका हौं । यसमा सरकारको नीतिले पनि साथ दिएको छ,’ उनले भने, ‘सानो मात्रामा भएपनि देशभित्रै रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा स्वदेशमा नै राख्ने उद्देश्य राखिएको छ ।’
नेपालमा हाल अधिकांश टायल भारतबाट आयात हुने गरेको छ । नेपाली कला, संस्कृतिअनुसारको टायल बनाइने भएकाले आफूहरुको उत्पादनले बजार विस्तारका साथै राष्ट्रिय मर्मलाई समेत सम्बोधन गर्ने उद्योगका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।
उद्योगको दैनिक उत्पादन क्षमता डेढ लाख वर्ग फिट छ । नेपाली माटो, नेपाली सिमेन्टलगायत झन्डै ५० प्रतिशत कच्चा पदार्थ समेत आन्तरिक नै प्रयोग हुने भएकाले विदेशी टायलभन्दा सस्तो पर्ने समेत प्रबन्ध निर्देशक अग्रवालको भनाइ छ ।
रौतटहको बृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा स्थापित उद्योग स्थापना गर्नुको पछाडि दुई दशकदेखि नै टायल व्यापारको अनुभवले पनि काम गरेको उनको भनाइ छ ।
उद्योगले टायलको आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने उद्देश्य लिएको अध्यक्ष गर्गको भनाइ छ । ऊर्जा उद्यमी समेत रहेका गर्गले आन्तरिक रुपमा उत्पादन बढाउने सरकारको नीति भएपनि व्यवसायीलाई थप सहजीकरण गरिदिन सरकारसँग माग गरे ।









