काठमाडौं– सोलुखुम्बुबाट काठमाडौं उडानका क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकप्टरले सम्पर्कविहीन हेलिकप्टर खोजी जारी राखेको हो ।
सोलुखुम्बुको सुर्केबाट बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौं उडेको कलसाइन ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर एक मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकोप्टरमा पाइटलसहित ६ यात्रु सवार थिए ।
उनीहरुमध्ये पाँचजना मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ । सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीन हेलिकप्टरको खोजी जारी रहेको जनाएको छ ।









