काठमाडौं– मंगलबार बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका–५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ ।
उक्त हेलिकप्टर सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको थियो । दुर्घटनास्थलमा रहेका सोलु दूधकुण्ड नगरपालिका–२ बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) निराजन बस्नेतले हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरेका हुन् । उनले आफूहरु दुर्घटनास्थलमै रहेको र क्षतिको विवरण पुष्टि भएपछि पठाउने जानकारी दिएका छन् ।
सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइनको उक्त हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना मेक्सिकन यात्रु थिए ।
लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुलाई सुर्केसम्म गाडीमा ल्याएर काठमाडौं उडाइएको थियो ।
हेलिकप्टर लामाजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले जानकारी दिए ।
यसैबीच, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिएका छन् ।









