चितवन– जिल्लामा चैतेधान खेती गरेका ६ हजार ९९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो ।
२० कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा १०० रुपैयाँका दरले र सोभन्दा बढी धान लगाएका किसानले ९५ रुपैयाँका दरले अनुदान रकम पाएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कमला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार यस कार्यक्रमका लागि जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए ।
खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैते धान खेती गरेका कृषकले अनुदानस्वरुप रकम पाऊँ भनी निवेदन दिएका थिए । उनका अनुसार ४ हजार २५ विगाह १५ कठ्ठामा चैतेधान खेती भएको निवेदन परेको थियो । निवेदनपछि स्थलगत अनुगमन र प्रमाणीकरणपछि ३ हजार ७०६ बिघा जमिनमा लगाइएको धान खेतीका लागि प्रोत्साहन रकम वितरण गरिएको हो ।
प्रोत्साहन कार्यक्रमका लागि संघीय सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । कार्यक्रमअनुसार प्रतिकट्ठा ४०० रुपैयाँ दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णयअनुसार अनुदान रकम दिइएको हो । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ ।









