काठमाडौं– चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठवटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।
एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारीसाधन प्राप्त भएको हो ।
अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीनवटा एयुभी र पाँचवटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।
करिब ३ करोड रुपैयाँ मूल्यका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो ।
हाल ती सवारीसाधन संसद् भवन परिसरमा रहेको र नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो ।
२०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो ।









