काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका १ हजार ९९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उक्त संख्याका व्यक्तिलाई आर्थिक वर्ष २०७९–८० मा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएकामा फरार रहेकाहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए ।
अदालतले पक्राउ परेका उनीहरुबाट १२ करोड ८७ लाख ९३ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । यस्तै विभिन्न समयमा अदालतबाट कैद र जरिवाना ठहर भएका २३ हजार ५९० व्यक्ति अझै फरार रहेको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७९–८० मा १८ हजार ११२ मोबाइल हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको छ । हराएका मोबाइलमध्ये १ हजार ६५० थान फेला परेको प्रवक्ता रिजालले बताए । काठमाडौं प्रहरीमा आर्थिक वर्ष २०७९–८० मा विभिन्न शीर्षकमा ५ हजार एक सय ६३ उजुरी दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये सवारी साधनसम्बन्धी ११६, रकम ठगीका ९९७, वैदेशिक रोजगारी ठगीका ५४०, जग्गासम्बन्धी विवादका ४० र झै झगडा कुटपिटका ६३ उजुरी छन् ।
यसैगरी, घरेलु हिंसाका १५, सहकारीसम्बन्धी ठगीका ५०, अनलाइन ठगीका ४०, चेकसम्बन्धी ठगीका २७६, सरसामान चोरीका २१ र मोटरसाइकल चोरीका ३ उजुरी परेका छन् । परेकामध्ये ६२१ उजुरी फर्छ्योट भएको र बाँकी पक्रियामा रहेको काठमाडौं प्रहरीले जनाएको छ ।









